दाङ । आज शनिवार (पुस १९ गते) घोराहीमा एकदिने माघ सांस्कृतिक महोत्सव–२०८२ हुने भएको छ । थारू कल्याणकारिणी सभा दाङको आयोजनामा घोराहीस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा हुन लागेको महोत्सव (थारू संवत् २६४९) को तयारी पूरा भएको आयोजकले जनाएको छ ।

थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा थारू कल्याणकारिणी सभाका अध्यक्ष अशोक चौधरीले जानकारी दिएका छन् ।

महोत्सवमा सात दर्जनभन्दा बढी मघौटा नाच, छोक्रा, हुर्डुङया, ढुम्री लगायतका विविध सांस्कृतिक प्रस्तुति रहनेछन् । साथै, राष्ट्रिय तथा स्थानीय थारू कलाकारहरूले आकर्षक प्रस्तुति हुनेछन् ।

महोत्सवमा थारू परिकारहरू घोंघी, माछा, गंगटा, ढिक्री, अनडीको रोटी, अनडीको भात, अनडीको झोल, आलुको अचार, सिध्र माछा लगायत बिक्री तथा वितरण गरिनेछ । साथै, थारू इतिहास, भाषा, साहित्य र संस्कृतिसम्बन्धी पुस्तकहरूको प्रदर्शनी तथा बिक्रीको पनि व्यवस्था गरिएको छ । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने संयोजक चौधरीले जानकारी दिए ।