बाँके । नेपालगञ्जको भेरी अस्पताल बच्चा जन्मेको २४ घण्टापछि नै सिकलसेल (एनिमिया) को निःशुल्क परीक्षण हुने भएको छ ।
अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा। राजन पाण्डेका अनुसार रोग नै पत्ता नलागेर बर्सौंसम्म मानिसले दुःख पाउँदै आएको भन्दै जन्मेको २४ घण्टामै परीक्षण गरेर समस्या छ/छैन यकिन गर्न सकिनेछ । सिकलसेल समयमै पत्ता नलाग्दा कतिपय बच्चाको नवजात अवस्थामा ज्यान जाने गरेको थियो ।
थारू समुदायमा जनस्वास्थ्यको समस्याका रूपमा रहेको सिकलसेल अन्य जातिमा पनि भेटिने गरेको डा। पाण्डेले बताए । “अब भेरी अस्पतालमा जन्मने बच्चाका अभिभावकको अनुमतिमा निःशुल्क परीक्षण हुन्छ, अन्य अस्पतालमा जन्मेका बच्चाको पनि भेरी अस्पतालमा परीक्षण गराउन सकिने छ ”, उनले भने ।
नवजातमा सिकलसेल देखिए तीन महिनापछि पाँच वर्षसम्म थप खोप र औषधी सेवन गराउनुपर्छ । विशेष गरी यो रोग थारु समुदायका मानिसहरुमा देखिदै आएको छ ।
मानिसको रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरुप परिवर्तन भई हँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल रोग भनिन्छ।











