काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र क्षतिबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई आगामी साता बयानमा बोलाउने भएको छ । यो सातासम्म तत्कालीन गृहसचिव र प्रहरी प्रमुखको बयान सक्ने र त्यसपछि लेखक र ओलीलाई क्रमैसँग बोलाउने आयोगको तयारी छ ।

बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्न जाने क्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओली र लेखकलाई अर्को साता बोलाइने बताए । ‘बाँकी सबैलाई अर्को हप्ता बयानमा बोलाउँछौँ,’ ओली र लेखकको बयान कहिले हुन्छ भन्ने पत्रकारको जिज्ञासामा उनको भनाइ थियो ।

२३ भदौको आन्दोलनमा तत्कालीन सरकारले अत्यधिक बल प्रयोग गरेकोमा सरकारका प्रधानमन्त्री र गृहमन्त्रीमाथि कारबाहीका लागि जेन–जी अगुवाहरूले दबाब दिँदै आएका छन् । आन्दोलनको तीन महिना बित्दा पनि सोधपुछसमेत नभएको भन्दै आक्रोश व्यक्त हुँदै आएको छ  नयाँ पत्रिकामा खबर छ। ओली र लेखकविरुद्ध सहिद परिवारले प्रहरीमा जाहेरीसमेत दर्ता गरेकोमा प्रहरीले आयोगको प्रतिवेदनपछि मात्रै यस विषयमा निर्णय लिने बताउँदै आएको छ ।

आयोगको तीनमहिने म्याद भने एक साता मात्र बाँकी छ । ९ पुसमा म्याद सकिन लागेपछि आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री कार्कीसँग भेटेर छलफल गरेका हुन् । भेटमा म्याद थपको विषयमा पनि छलफल भएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए । ‘कति दिन थप्नुपर्छ भन्नेमा हामी आकलन गरेर जानकारी गराउँछौँ भनेका छौँ,’ उनले भने, ‘बयान नै बाँकी रहेकाले अहिलेको म्यादभित्र काम गर्न सम्भव छैन ।’