दाङ । आरम्भ चौतारी लघुवित्तीय संस्था लिमिटेड दाङ शाखा गोग्लीको आयोजनामा सदस्यलाई बित्तीय साक्षरता तथा व्यवसायिक तरकारी खेती तालिम प्रदान गरिएको छ ।

संस्थाका कार्यक्रम अधिकृत गिता रावतको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन भएको थियो । कार्यक्रममा प्रमुख अतिथि डिसीले महिलाहरु सक्षम र आत्मनिर्भर बन्न पर्ने बताइन् । आत्मनिर्भर बन्नका लागि उद्यमशिलतामा जोडिनु पर्ने उनको भनाइ रहेको छ । ‘हामी पर निर्भर बन्ने होइन् उद्यम शिलता मार्फत आत्मनिर्भर बन्नु पर्दछ’ उनले भनिन् ।

घोराही उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष मधुसुदन घिमिरेले कृषकहरुले उत्पादन गरेको बस्तुले उचित मुल्य पाउन नसकेको बताए । विचौलीयाको कारणले उचित पाउन नसकेको उनको भनाइ छ । यसका लागि स्थानीय सरकारले काम गर्नु पर्ने भए पनि स्थानीय सरकारले काम गर्न सकेको उनले बताए ।

घोराही उपमहानगरपालिकाका कृषि शाखा अधिकृत मोहनलाल न्यौपानेले तालिमको सहि सदुपयोग गरेर अगाडि बढन आग्रह गरे । प्राविधिक ज्ञानले व्यवसायीक रुपमा काम गर्न सहयोग पुग्ने उनले बताए । कार्यक्रममा पत्रकार अमरराज आचार्य लगायतकाले भनाइ राखेका थिए ।

संस्थाका सदस्यहरुलाइ ऋण लगानी संगै उनीहरुलाइ व्यवसाय रुपमा अगाडि बढनका लागि सहजता होस भनेर यस प्रकारका तालिम प्रदान गदै आएको कार्यक्रम अधिकृत गिता रावतले जानकारी दिइन् । जसले सदस्यहरुको आर्थिक सुधारमा सहयोग पुग्ने समेत संस्थाले अपेक्षा गरेको छ ।

कार्यक्रममा उदेश्यबारेमा भवानी पुनले जानकारी गराएकी थिइन् । रेखा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण ज्योति पौडेलले गरेकी थिइन् । सो अवसरमा संस्थाले उत्कृष्ट केन्द्र, उत्कृष्ट उद्यमी, समग्र बचत कर्ता उत्कृष्ट समुहलाइ सम्मान गरेको थियो ।