काठमाडौँ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । विहीबार भएको दोश्रो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो । लुम्बिनीले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ ओभर ५ बलमा ९४ रन बनाएर अलआउट भयो ।

विराटनगरका साम हिजलेटले सबैभन्दा धेरै ३४, नरेन भट्टले २१ र मर्चेन्ड डे ल्याङ्गेले १७ रन बनाए । लुम्बिनीका तिलक भण्डारी ३, रुवेन ट्रम्पेलेम्यान, अभिशेष गौतम र जेजे स्मिथले समान २ तथा शेर मल्लले १ विकेट लिए ।अब भोलि शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो । गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ ।

एपिएलको विजेताले एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो रु १५ लाख प्राप्त गर्नेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियोे ।