काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव अघि नै पार्टीको १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन तयार भएका छन् । यसमा सभापति देउवा आफैं सक्रिय भएपछि डेढ महिनादेखि जारी कांग्रेस बैठकको गतिरोधले निकास पाउने देखिएको छ ।

आफ्नै समूहभित्रको असन्तुष्टिका बीच देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी सोमबारको बैठकमा कार्यतालिका प्रस्तुत गर्न निर्देशन दिएका थिए ।

सभापतिले पार्टीभित्रको विवाद मिलाउन निर्वाचनअघि महाधिवेशन गर्न चाहेपछि पूर्वपदाधिकारी विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको समूहमा ‘हलचल’ पैदा भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन हुने सुनिश्चित नभए विशेष महाधिवेशन प्रक्रिया स्वतः सुरु गर्ने अडान कायमै राखेका छन् ।

तर देउवानिकट पूर्वपदाधिकारीसहितको समूहले आइतबार छुट्टै भेला गरी विशेष महाधिवेशन फिर्ता हुने गरी कार्यतालिका आए मात्र स्विकार्न सकिने प्रस्ताव अघि सारेको छ ।