घोराही, १९ साउन ।  कम्युनिष्ट न्यूक्लियस पार्टी नेपालका अध्यक्ष हेमन्तप्रकाश ओली सुदर्शनले नेपालको सत्ता र राजनिति भारतको ईसारामा चलेको बताउनुभएको छ । न्यूक्लियस पार्टीको राप्ती लुम्बिनी व्यूरोले आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि भारतकै बलमा प्रधानमन्त्री बन्न लागेको आरोप पनि लगाउनुभएको छ ।

aaaaaaaहिजो राजदरवारले चलाएको सत्ता अहिले दिल्लीको हातमा गएको उहाँको भनाई थियो । भारतले जे चाह्यो त्यही नेपालमा हुने गरेको भन्दै उहाँले नेपाललाई दिल्ली हावीको संज्ञा दिनुभयो ।

अर्को प्रसंगमा क्रान्तिकारी कम्युनिष्टहरु एक हुनुको बिकल्प नरहेको समेत जिकिर गर्नुभयो । नेपालमा आफ्नो पार्टी सँगै बिप्लव नेतृत्वको माओबादी र किरण नेतृत्वको माओबादी मात्रै क्रान्तिकारी भएको दावी गर्दै आगामी भदौ सम्म पार्टी एकता गर्ने बताउनुभयो । शसस्त्र र साँस्कृतीक क्रान्ति पछि मात्रै नेपालमा आफुहरुले भने जस्तो बैज्ञानीक समाजवादी क्रान्तिलाई स्थापित गर्न सकिने धारणा राख्नुभयो ।

पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सचिवालय सदस्य भुपेन्द्र न्यौपानेले विदेशी शक्तिबाट नेपालको सरकार परिचालित हुदै गएको भन्दै प्रधानमन्त्री बन्न लागेका प्रचण्ड कार्टुन बन्ने टिप्पणि गर्नुभयो । ठेगान नभएको सरकारको नेतृत्व गर्न तयार भएका प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई बिच्छेद गराउदै गएको आरोप लगाउनुभयो ।।