सल्यान । सल्यानको शारदा नगरपालिकामा एक सातासम्म सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट सात सयभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् । नगरपालिकाका विभिन्न सात स्थानमा सञ्चालन गरिएको शिविरमा ३११ पुरुष र ४४६ महिलासहित कुल ७५७ जनाले सेवा लिएका हुन् ।
शिविरबाट सेवा लिएका मध्ये १३२ जनामा मोतियाविन्दुको समस्या देखिएपछि शीतलपाटीस्थित आँखा उपचार केन्द्रमा निःशुल्क शल्यक्रियाका लागि रिफर गरिएको छ । शारदा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रविन विष्टले जटिल समस्या पहिचान भएका ५३ जनालाई राप्ती आँखा अस्पताल, दाङ रिफर गरिएको वताए ।
शारदा नगरपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ र राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा वडा नं. २, ५, ६, ९, ११, १३ र १४ मा शिविर सञ्चालन गरिएको थियो । शिविरका क्रममा कम दृष्टि भएका १८१ जनालाई निःशुल्क चस्मासमेत वितरण गरिएको छ ।











