रौतहट । रौतहटको वृन्दावन नगरपालिका वडा नं. ९ भुसाहामा घरमै गाडेर राखेको अवस्थामा एक महिलाको शव फेला परेको छ । वृन्दावन–९, भुसाहाका शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति हत्या गरेर आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

मङ्गलबार बिहान घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुग्दा खातुनको शव पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको र टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुमान गरिएको छ ।

मृतकका श्रीमान् शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा छन् । घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मदसहित घरका सबै सदस्य खातुनकी डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई लिएर फरार रहेको प्रहरीले जनाएको छ ।