इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले तीन जनालाई लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ७ राजापुरस्थित लोचन राईको घरमा बस्ने ३० वर्षका कुमार नेपाली र सोही ठाउँ बस्ने २३ वर्षका जय अधिकारी रहेका छन् ।

प्रहरीले उनीहरुबाट १ ग्राम ९४० मिलिग्राम ब्राउनसुगर पनि बरामद गरेको छ । नेपाली र अधिकारीले लागुऔषधको कारोवार गरिहरेको सूचना पाएपछि प्रहरीले उनीहरुलाई सोमवार लागुऔषधसहित नियन्त्रणमा लिएको हो । दुबै जनालाई अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी रोल्पा माडी गाउँपालिका २ घर भई हाल घोराही उपमहानगरपालिका १३ बस्ने ३४ वर्षका कर्णबहादुर बि.क. लाई पनि प्रहरीले लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ । सोमबार विकलाई ८०० मिलिग्राम ब्राउन सुगरसहित घोराही १३ वनगाउँमा संचालन गरेको बंगुर फर्ममा बसी लागु औषधको कारोबार गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । विकलाई पनि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।