म्याग्दी । उच्च हिमाली भेगमा हल्ला वर्षा सहितको हिमपात हुनथालेपछि म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको पदयात्रा पूर्णरूपमा रोकिएको छ ।

वर्षा र हिमपात भइरहेकाले सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरेर पदयात्रामा पूर्णरूपमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिएका छन् । अन्नपूर्ण गाउँपालिका ४, नारच्याङ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर, मौरिस हर्जोग पदमार्ग र पञ्चकुण्ड तालको भ्रमणमा रोक लगाइएको हो ।

‘‘पदयात्रामा रहेका पर्यटकहरूलाई सहजीकरणको निम्ति नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय उद्दारकर्मी इन्द्रसिंह शेरचन थकाली सहितको टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी त्यस तर्फ परिचालन गरेका छौं ’’,
उनले भने ।

पदयात्रामा भइरहेका पर्यटकलाई फर्काउन र पदमार्गमा अलपत्र परेकालाई उद्दार गर्न उद्दार टोली परिचालन गरेको पनि प्रमुख प्रहरी थापाले बताए ।