काठमाडौं । सर्वोच्च अदालतले जेन–जी आन्दोलनमा भएको आगजनी, तोडफोड र लुटपाटविरुद्ध प्रहरीमा जाहेरी दिने भएको छ । सर्वोच्चले दुई दिनभित्रै प्रहरी कार्यालय जाने जानकारी दिएको छ । सँगै मातहतका अन्य अदालतले पनि आगजनीविरुद्ध सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनेछन् ।
गत २४ भदौको आगजनी र तोडफोडपछि सर्वोच्च अदालतमा क्षति भएको छ । यसक्रममा सर्वोच्चका भवन, सवारीसाधन, जिन्सी जलेर नष्ट भएका छन् । सबै गरी एक अर्ब २१ करोड २१ लाख ९१ हजार ५१ रुपैयाँबराबरको सम्पत्ति नष्ट भएको सर्वोच्चको भनाइ छ नयाँ पत्रिकामा खबर छ। नष्ट भएका सम्पूर्ण सम्पत्तिको विवरणसहित प्रहरीमा जाहेरी लिएर जाने तयारी भएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले बताए ।
‘जेन–जी आन्दोलनमा सर्वोच्चकोे ठुलो परिमाणमा सम्पत्ति जलेर नष्ट भएका छन् । त्यसको विवरण संकलन भइसकेका छन् । सोही आधारमा जाहेरी लिएर प्रहरी कार्यालयमा जाने तयारी भएको छ । सम्भवतस् एक–दुई दिनभित्रै हामी जाहेरी लिएर प्रहरी कार्यालय जान्छौँ । दस्तावेजीकरणका लागि यो आवश्यक छ,’ उनले भने ।
सर्वोच्चका अनुसार मूल भवनमा मात्रै ५० करोड रुपैयाँबराबरको क्षति भएको छ । ४० करोड १९ लाख ५ हजार ७०८ रुपैयाँबराबरको सवारीसाधन (पूर्ण क्षति), २८ करोड ७३ लाख १५ हजार ९३० रुपैयाँको जिन्सी (खर्च भएर जाने), २४ लाख १९ हजार ४१३ रुपैयाँ बराबरको जिन्सी (खर्च भएर नजाने) र दुई करोड पाँच लाख ५० हजार रुपैयाँबराबरको सवारीसाधन (आंशिक) गरी कुल एक अर्ब २१ करोड २१ लाख ९१ हजार ५१ रुपैयाँबराबरको सम्पत्ति नष्ट भएका छन् ।











