दाङ । दाङमा जापानिज इन्सेफ्लाइटिस (जेई) का कारण एक जनाको मृत्यु भएको छ । यसबाट थप तीन जनामा संक्रमण पुष्टि भएको छ।

राप्ती गाउँपालिका–१ का ६० वर्षीय पुरुषको जेई संक्रमणका कारण निधन भएको स्वास्थ्य कार्यालय दाङका किटजन्य सरुवा रोग फोकल पर्सन कमल चन्दले बताए । साउन १८ गते बिरामी भई बुटवलस्थित अस्पतालमा भर्ना भएका उनको भदौ २ गते उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

चालु आर्थिक वर्षमा जिल्लामा जेईका कारण मृत्यु भएको पहिलो घटना हो। चन्दका अनुसार राप्ती गाउँपालिका–६ का ११ वर्षीय बालक, गढवा गाउँपालिका–६ का ३६ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–१२ की २६ वर्षीय महिलामा समेत जेई संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये राप्ती–६ का बालकको राप्ती आधारभूत अस्पताल कालापानीमा उपचार भई रहेको छ भने अन्य दुई जना जिल्ला बाहिरका अस्पतालमा उपचाररत छन्।

फोकल पर्सन चन्दका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै जेई बाट बच्ने मुख्य उपाय हो। यो रोग लागेपछि उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, बान्ता हुने र शरीर काप्ने जस्ता लक्षण देखिने गर्दछ ।