दाङ। हिन्दु महिलाहरुको पर्व तीज नजिकिदै गर्दा नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा तीज मिलन कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिए । प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताए ।
“आजभोलि तीज र अन्य चाडपर्वहरू देखाउनकै लागि मनाउने प्रवृत्ति बढेको छ । यो ठीक होइन । चाडपर्वमा खर्च गर्दा घाँटी हेरेर हाड निल्नुपर्छ । आफ्नो आर्थिक हैसियतअनुसार पर्वलाई रमाइलो बनाउनुपर्छ,” प्रियासनले भने ।
त्यस्तै नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य लिला शाहले महिलाहरूका लागि तीजले आत्मबल, उमङ्ग र उत्साह दिने अवसर निर्माण गर्ने बताइन् ।
महासङ्घ लुम्बिनी प्रदेश महासचिव पाण्डव शर्माले पर्वले ल्याउने सामाजिक एकताको पक्षमा जोड दिएका थिए । “पर्व भनेको सबै मिलेर मनाउने साझा खुशी हो । यसलाई खर्चिलो बनाउने होइन, सामाजिक सौहार्द र परिवारमा खुसी ल्याउने माध्यम बनाउनुपर्छ । पत्रकार महासङ्घजस्तो संस्था महिला विभागमार्फत यस्तो कार्यक्रम गर्दै संस्कृतिको जगेर्ना गर्न लागेको देख्दा खुसी लागेको छ”, उनले भने ।
नेपाल पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले तीज मिलन जस्ता कार्यक्रमले पत्रकारबीचको आत्मीय सम्बन्ध बलियो हुने बताए । “पत्रकार महासङ्घले केवल पेशागत अधिकारका लागि मात्र होइन, सामाजिक र सांस्कृतिक क्षेत्रको संरक्षणका लागि पनि जिम्मेवारी बहन गर्नुपर्छ । महिला विभागले आयोजना गरेको यो कार्यक्रमले दाङ जिल्लामा महिला पत्रकारहरूको सक्रियता र सहभागिता झल्काउँछ”, अध्यक्ष सुवेदीले भने ।
सो अवसरमा नेपाल प्रेस युनियनकी केन्द्रीय उपमहासचिव सुलोचना पोख्रेल, प्रेस सेन्टरकी केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्य, क्रान्तिकारी पत्रकार संगठनकी केन्द्रीय सदस्य सुशीला आचार्य, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य सुदर्शन रिजाल, महिला विभाग प्रमुख एवं महासङ्घ दाङ शाखाकी उपाध्यक्ष नारायण रजौरे शुभकामना व्यक्त गरेका थिए । स्वागत मन्तव्य सरिता चौधरीले गर्नुभएको र सञ्चालन रमा नेपालीले गरेकी थिइन् ।
