इन्द्रेणी संवाददाता
दाङ । गृहमन्त्रालयले एक्कासी कैलाली सरुवा गरेपछि जान लागेको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल विदाइ भएका छन् । विभिन्न संघ/संस्थाका प्रमुख तथा पदाधिकारी, कर्मचारी, अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुले बिहीबार प्रजिअ लम्साललाई विदाइ गरेका हुन् ।

विदाइ भएर जान लागेका प्रजिअ लम्सालले दाङमा आफू कार्यरत हुँदा जिल्ला प्रशासन कार्यालय दाङबाट भएका कार्यसम्पादनका काम समेत सार्वजनिक गर्न भ्याए । उनले जिल्लाका पत्रकारहरुलाई बोलाएर आफ्नो करिव ११ महिनाको कार्यकालमा गरेका कार्यसम्पादनका काम सार्वजनिक गरेका हुन् ।

आफ्नो कार्यकालमा कार्यसम्पादन भएका काम सार्वजनिक गर्दै प्रजिअ लम्साल

सो क्रममा प्रजिअ लम्सालले हालसम्म बैदेशिक रोगजार ठगी सम्बन्धी जम्मा २८५ वटा निवेदन परेका र त्यसमध्ये ७८ वटामा सहमति भएको जानकारी दिए । जसमा १७ करोड ९१ लाख २ हजार ३०० रुपैयाँ ठगी भएको र जसमा ४ करोड ९७ लाख ४७ हजार फिर्ता समेत भएको बताए । वैदेशिक रोजगार ठगीबाट ४०९ जना पीडित भएका छन् । १७ हजार ५९१ नयाँ नागरिकता वितरण गरिएको छ । जसमा आमाको नामबाट ५ जनालाई र गैरआवासीय १२ जनालाई नागरिकता वितरण गरिएको छ ।

त्यस्तै १७ हजार २२२ राहादानी विवरण, राष्ट्रिय परिचय पत्र वितरण ७ हजार ५०२ भएका छन् । त्यस्तै आव २०८२/८३ मा ८७ दशमलव ५७ प्रतिशत वेरुजु फर्छयौट भएको भन्दै यो एउटा राम्रो काम लम्सालले बताए । पत्रकार भेटभाटमा विशेष गरी जिल्ला प्रशासनबाट नियमित रुपमा हुने कार्यसम्पादनका गतिविधिहरु प्रस्तुत गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी लम्साललाई गृहमन्त्री रमेश लेखकले मन्त्रिस्तरीय निर्णयबाट बुधबार मात्रै कैलाली सरुवा गरेका हुन् । सामान्यतया कार्यालय प्रखुम तथा कर्मचारीहरुको अवधि दुई वर्ष हुने भएतापनि प्रजिअ लम्साल ११ महिनामै दाङबाट सरुवा भएका छन् ।