काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रास्वपा सभापति रवि लामिछानेलाई थुनिएको कोठा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त नरहेको भन्दै सरकारलाई लिखित ध्यानाकर्षण गराएको छ । आयोगका सदस्य डा. लिली थापा नेतृत्वको टोलीले सोमबार रुपन्देही कारागारमा लामिछानेलाई थुनिएको कोठाको स्थलगत निरीक्षण गरेपछि आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा र मानव अधिकार कुनै पनि दृष्टिमा उक्त कोठा उपयुक्त नभएको जनाएको हो ।
‘कारागारमा रवि लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाईले बन्द गर्दा कोठामा हावा पास हुन नसकेको, निजलाई कोठाबाहिर हिँडडुल गर्न नदिइएको, कोठासँगै खुला ट्वाइलेट रहेको, स्वास्थ्यको दृष्टिकोणले निजलाई राखिएको कोठा उपयुक्त नभएको र अदालतबाट आदेश हुँदासमेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको छ,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रुपन्देही जिल्ला अदालतले १६ जेठमै लामिछानेको मन्जुरी भए उपत्यकाका कारागारमा स्थानान्तरण गर्न अनुमति दिएको थियो । तर, गृहमन्त्री रमेश लेखकको दबाबमा कारागार विभागले स्थानान्तरण गरेको छैन । अदालतको आदेश उल्लंघन भएको विषयप्रति पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।











