सुर्खेत । कर्णाली प्रदेश सरकारले रोजगारीका अवसर सिर्जना गर्ने गरी युवालाई उद्यमशीलतामा जोड्ने योजना अघि सारेको छ। युवा उद्यमशीलता र रोजगारीको विषयलाई नीति तथा कार्यक्रमसहित बजेटमा समावेश गरिएको हो ।
कर्णालीका युवालाई उद्यममा जोड्ने योजना अन्तर्गत यो वर्षदेखि कार्यान्वयन हुने गरी युवा उद्यमशीलता विकास गर्न र नवप्रवर्तन प्रवर्धन गर्न ‘स्टार्टअप फन्ड र बिजनेस इन्क्युवेसन सेन्टर’ स्थापना गर्न लागिएको छ । यस्ता उद्योगबाट उत्पादित वस्तु तथा सेवाको गुणस्तरीयता कायम गरी बजारीकरणका लागि समेत प्रदेश सरकारले सहयोग गर्ने छ ।
सो कार्यक्रम कार्यान्वयनका लागि दुई करोड बजेट विनियोजन गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिबाट सञ्चालन हुने व्यवसायलाई प्रोत्साहन गर्न सहुलियतपूर्ण कर्जाको कार्यक्रम पनि प्रदेश सरकारले ल्याएको छ ।
यसअघि प्रदेश सरकारले युवाका सवाल समेट्ने गरेको भएपनि छुट्टै शीर्षकमा बजेट भने विनियोजन गर्ने गरेको थिएन । चालु आवमा युवालक्षित कार्यक्रम बनाएरै बेरोजगारी समस्यालाई सम्बोधन गर्न खोजिएको छ ।
कर्णालीमा १० वर्ष वा सोभन्दा बढी उमेरका छ लाख ६८ हजार ७१५ जनामध्ये आर्थिक रूपमा सक्रिय रोजगारको सङ्ख्या छ लाख १८ हजार ४८७ रहेको छ भने ५० हजार २२८ जना बेरोजगार रहेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार कर्णाली प्रदेशको कुल जनसङ्ख्या १६ लाख ८८ हजार ४१२ रहेको छ । तीमध्ये आठ लाख २३ हजार ७६१ पुरुष र आठ लाख ६४ हजार ६५१ महिलाको सङ्ख्या रहेको छ ।
