काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूलाई माओवादीबाट जति धकेल्न खोजे पनि आफू माओवादीमै रहने बताएका छन् । जति धकेल्न खोजे पनि म पार्टीमा अड्डि रहन्छु,’ शर्माले स्थायी कमिटी बैठकमा भने, ‘३१ लाखबाट ११ लाख मत झार्न मेरो कमजोरी छ भने म आत्मालोचना गर्न तयार छु। हैन भने तत् तत् ठाउँबाट आत्मालोचना गर्न आवश्यक छ।’

पार्टी फुट्छ भन्ने कुरा नेतृत्वबाटै आउने गरेकोमा भन्दै शर्माले पार्टी फुट्छ भनेर गरिएका प्रचारहरूको खारेज गर्ने समेत दावी गरेका छन्। उनले पार्टी फुट्छ भन्ने कुरा नेतृत्वबाटै आउनेको प्रति भने असन्तुष्टि जनाए।

आफूले पार्टी निर्माणबारे प्रश्न उठाएबापत के सजाय भोग्नुपर्ने हो त्यसका लागि पनि तयार रहेको भन्दै उनले भने ‘मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाए, अरुले भित्र भित्रै यो पार्टी बन्दै बन्दैन भन्दै हिँडेका छन्। तर पार्टी निर्माणमा मैले प्रश्न उठाए बापत के सजाय भोग्नुपर्छ म तयार छु। पार्टी फुट्छ भन्ने दुष्प्रचार खारेज गर्छु।

उपमहासचिव शर्माले माथि उल्लेखित मत मत घट्नुमा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले आत्मआलोचना गर्नुपर्ने संकेत गरे । उनले पार्टीलाई समाजवादको दिशामा लैजानुको साटो सरकारमा बसेर उदारवाद र नवउदारवादको बखान गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।

यता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्माप्रति लक्षित गर्दै जसले गल्ती गर्‍यो उसले आत्मआलोचना गर्नुपर्ने बताएका छन् । स्थायी कमिटीको आइतबारको बैठक सकिएपछि केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डलाई पत्रकारहरूले उपमहासचिव जनार्दन शर्माले बैठकमा राखेका विषयमाथि केन्द्रित रहेर प्रश्न सोधेपछि प्रचण्डले भने, ‘अहिले छलफल चलिराखेकैछ। जसले गल्ती गर्‍यो त्यसले आत्मआलोचना गर्ने कुरा हो।’