दाङ । आजको दिन मानु छरेर मुरी उब्जाउने दिन । अर्थात असार १५ गते । आजको दिनलाई राष्ट्रिय धान दिवस रुपमा मनाइन्छ । किसानहरु वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । असारमा एक पटक हिलोमा पस्नैपर्ने मान्यता नेपालीमा समाजमा रहेको छ ।

२०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । आजको दिनलाई राष्ट्रिय धान दिवस रुपमा मनाएपनि किसानहरुलाई भने समयमा राज्यले विउ, मललगायतका कृषिका लागि आवश्यक सामग्री समयमा उपलव्ध गराउन सकेको छैन । बाली लगाउने समयमा विउ, मलको समस्या सधैजसो किसानहरुले भोग्दै आएका छन् । किसानहरुको समस्या भोग्दै आएर सास्तीमा हुन्छन् भने आजको दिन सरकारी कर्मचारीले वर्षमा एक दिन भएपनि खेतमा हिलो खेलेर धान दिवस मनाउने गर्दछन् । आजकै दिन दही चिउरा खाने चलन पनि छ ।