बाँके । स्वास्थ्य कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै ५९ हजार ५१३ बालबालिकामा कुपोषण देखिएको छ। तीमध्ये ७८२ जनामा कडा शीघ्र कुपोषण रहेको छ भने २ हजार ५२७ बालबालिका मध्यम कुपोषणको अवस्थामा छन्।
आर्थिक वर्ष २०८०/८१ मा ६३ हजार ९९ बालबालिकामा कुपोषणको लक्षण देखिएको थियो । जसमा कडाशीघ्र कुपोषण ६९६ बालबालिकामा थियो भने मध्यम कुपोषण २ हजार ८ सय ६६ जनामा देखिएको थियो ।
यसअघि आर्थिक वर्ष २०७९/८० मा ५० हजार ३९३ बालबालिका कुपोषित भएका थिए । जसमा कडाशीघ्र कुपोषण ७८४ जनामा देखिएको थियो भने मध्यम कुपोषण २ हजार ८५२ जनामा देखिएको थियो ।
५ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई कुपोषण परीक्षण गर्दा ० देखि २३ महिना उमेर समूहका बालबालिकामा कुपोषणको दर सर्वाधिक देखिएको छ।
परीक्षण गर्दा बालबालिकाहरूको उमेर अनुसारको तौल, उचाइ, मोटोपना, दुब्लोपना र ख्याउटेपनाको अवस्था बारे पत्ता लगाउने गरिएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले बताए ।
कुपोषण हुनुका कारणहरू
जन्मजात कुपोषण
पौष्टिक खाद्य, खानाबारे अज्ञानता
गर्भावस्थामा आमाले पोषक तत्त्व सहितको खाना खान नपाउनु, नखानु
पौष्टिक खाना वा आहारको अपर्याप्तता, अभाव, भोकमरी
भिटामिन तथा खनिज पदार्थको कमी
अस्वस्थ वातावरणको असर
विषादीयुक्त खाद्य, तयारी खानाको अधिक उपभोग
समयमा स्वास्थ्य स्याहार र सेवा नपाउनु
बिरामी पर्नु, जस्तै शिशु बालबालिकालाई दीर्घ झाडापखाला, निमोनिया र बारम्बार बिरामी भइराख्नु आदि ।











