इन्द्रेणी संवाददाता

दाङ, जेठ ३१ । दाङको घोराहीमा पहिलोपटक राष्ट्रिय स्तरको अभिनय कार्यशाला आयोजना हुने भएको छ। पहल नेपालले आयोजना गर्न लागेको पाँचदिने कार्यशाला यही असार ६ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ। कार्यशालामा वरिष्ठ अभिनेता तथा नाट्य प्रशिक्षक भोलाराज सापकोटाले प्रशिक्षण दिनेछन्।

प्रशिक्षक सापकोटा नेपाली रंगमञ्च, चलचित्र तथा टेलिफिल्म क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव बोकेका बरिष्ठ कलाकार हुन्। अभिनयको सैद्धान्तिक र व्यावहारिक पक्षमा आधारित प्रशिक्षण उनले दिने आयोजकले जनाएको छ।

झण्डै ३० जना सहभागी रहने सो कार्यशालाको उद्देश्य मोफसलमै कलाकार उत्पादन गर्नु हो। “दाङ कलाकारीताको प्रमुख थलो बन्दै गएकाले यहाँका नवोदित कलाकारलाई सशक्त अभिनयको अवसर दिन हामीले यो कार्यक्रम ल्याएका हौं,” पहल नेपालका निर्देशक केएल पीडितले बताए।

कार्यशालामा सहभागि कलाकारहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

कार्यक्रमको मिडिया पार्टनरको रूपमा इन्द्रेणी अनलाइन डटकम र गणतन्त्र राष्ट्रिय दैनिक रहनेछन्। आयोजकले कार्यशालालाई नियमित सांस्कृतिक गतिविधिका रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ।