काठमाडौँ । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । समितिले सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको हो ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै यातायात बन्दको घोषणा गरिएको हो ।

यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिले विज्ञप्तिमार्फ जानकारी दिएको छ ।