
भनिन्छ मानिसलाई दुःखले संघर्ष गर्न सिकाउछ अनि सफलताको प्राप्ती हुने गर्दछ, हो करिब एक दशकमा एक गुरुङसेनी महिलालाई दुःखले यतिबेला सफलताको शिखरमा चढाएको छ । उनै सफल महिला हुन् हिरा घले । उमेरले ४० माथि चद्दै गरेकी हिरा यतिबेला सहकारीको सफल यात्रापछि गाँउ पर्यटनको लागि पनि हिरा बनेकी छन् । रोल्पाको लिबाङ नगरपालिका ९ की हिरालाई सफल हिरा बन्न भने त्यत्ति सजिलो भएन्, पारिवारीक तनाव अनि तीन सन्तानकी आमा बनेकी हिरालाई आफ्नै भन्नेले साथ दिएका होइनन् ।
उनलाई साथ दिने नै उनकै आत्मबल थियो, त्यही आत्मबलले आफन्तको धोका अनि समाजको गलत सोचको सामना गर्दै उनी अगाडि बढेकी हुन् । दशक अघिको जर्जर अवस्था अनि परिवार र समाजको दुष्टीकोण उनका मुख्य बाधक थिए, त्यही बाधा अवरोधलाई छिचोल्दै उनले संघर्षको यात्रा तय गरेकी हुन् ।संघर्षको माध्यमबाट आफूलाई रुपान्तरित गर्ने र आफू जस्तै लैगिक आर्थिक सामाजिक हिसाबले कमजोर महिलालाई सशक्त बनाउनु उनका लागि ठूला चुनौतिका पहाडका थिए तर ती पहाडलाई छिचोल्दै उनी सहकारीको आन्दालनमा सफल नायक बनिन् भने पछिल्लो चरणमा महिलाको आर्थिक रुपान्तरण गर्न गाँउ पर्यटनमा सरिक भएकी छन् । उनको गाँउ पर्यटनको अभियानले राप्तीमै चर्चा पाउन थालेको छ, कुशल नेतृत्वको उदाहरण दिएर देश दुनियाँमा उनी कहलिएकी छन् । गुरुङ संस्कृति जीवनप्रणालीको प्रवद्र्धन तथा बजारीकरण गरि ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा उनी कस्सीएकी छन् ।
प्रवेशिका परिक्षा उत्तिर्ण गरेकी हिरा सामान्य आर्थिक हैसियत भएकी महिला हुन् , उनको संघर्षको यात्रामा निकै मानसिक तथा सामाजिक तनाव आइलागे,, बोल्न नजान्ने, गाँउकी महिला भन्दै उनलाई होच्याउनेहरुको ताँती नै थियो, तर ती सबैखाले व्यवहारलाई चिर्दै यतिबेला हिराका सामाजिक आर्थिक लैगिंक रुपान्तरणकी हिरा बनेकी छन् । हिजो उनलाई हेला र हेपाहको व्यवहार गर्नेहरुले यतिबेला हिरालाई सलाम गर्दछन् , उनी भन्छिन् शुरुशुरुमा समाज र परिस्थितिसंग जुध्न निकै मुश्किल भयो, कसैले एक सुको पत्याउदैनथे उल्टै खिस्सीट्यूरी गर्दथे, आफन्तले धोका दिए, तर यतिबेला त्यस्तो विगतको हेपाह व्यवहार छैन, मानिसहरुको धारणा र व्यवहारमा परिवर्तन आएको छ ।
हो दशक यताको हिराको संघर्षले चुनौतिका पहाडलाई भत्काइदिको छ, अनि नेतृत्व र सीपको अवसर भए महिलाले जस्तो सुकै काम गर्न पनि सफल हुन्छन् भन्ने उदाहरणलाई बलियो गरियो पुष्ट्याइदिएको छ । त्यही सामाजिक आन्दोलनमा सरिक एक कुशल महिलालाई यतिबेला हिजो अपमान गर्ने विद्यमान समाजले खोज्न थालेको छ, महिला हिंसा विपन्नताको लैगिंक उत्पीडन सामाजिक गलत दृष्टीकोणको विपक्षमा उनी सवल र कुशल नेता बनेकी छन् , गलत सोच र व्यवहारलाई चिर्न सफल भएकी छन् । महिला नेतृत्वमा दक्खलता राख्ने हिराले यबिेला आफ्नै गाँउका विपन्न महिलाहरुलाई गोलबन्द गर्दै गाँउ पर्यटनमा तीन दर्जन बढी महिलालाई गोलबन्दै गर्दै अगाडि बढेकी छन्, पछिल्लो अभियानले उनलाई थप नयाँ शिखरमा पुराइदिएको छ ।
पछिल्लो चरणमा उनको नेतृत्वमा चलेको ग्रामीण पर्यटनको अभियानले सिढी चढ्दै छ, गाँउमा सरसफाई सामाजिक एकता सदभाव यतिबेला गाँउका सुन्दर नमुना नै भएका छन् , गुमेका आफ्ना मौलिक संस्कृतिकको खोजी र पुनरउत्थान गर्न उनी सरिक भएकी छन् । गुरुङ संस्कृति जीवन प्रणाली यतिबेला उनीहरुको आर्थिक जीवनको आधार बन्दै गएको छ । उनकै पहलमा थालिएको गाँउ पर्यटन विकासको लागि पुरुषहरु पनि साथ दिन थालेका छन् , गुरुङ सामुदायीक होमस्टे संचालन समितिका अध्यक्ष हरिजंग गुरुङले महिलाहरुको उत्कृष्ट कामले आफूहरुलाई पनि समाजका लागि सिर्जनशिल काम गर्न प्रेरित गरेको प्रतिक्रृया दिए । गुरुङको नेतृत्वको समितिले हाल पाँच घरमा घरबास कार्यक्रम संचालन गरेको छ । यद्यपी हिराको कुशल नेतृत्वलाई अन्य महिलाहरुले पनि साथ दिएका छन् उनको योजनालाई पुरा गर्न स्थानीय दिदी बहिनीहरुको विशेष योगदान रहेको घलेले बताइएकी छन् , घलेसंगै मन्जु,पवित्रा, कल्पना, निमा, कुमारी लगायतका दर्जन महिला गाँउ पर्यटनमा जुटेका छन् ।
सदरमुकाम नजिक भएर पनि बत्तीमुनि अध्यारो भने जस्तै दशक अघि ओझेलमा परेको गुरुङगाँउमा विसं
२०६६ तिर सहकारीले उज्यालो ल्याउन सहयोग गरेको हो । सहकारीताको अभियानमा पनि हिरा नेतृत्वले अव्वलता कमाएको छ, राष्टिय क्षेत्रीय, पुरस्कार र सम्मान पाउँदै आएको छ । सहकारीमार्फत उनीहरु कृषी उपजको प्रवद्र्धन गर्न लागि परेका छन् ,सहकारीको विकाससंगै सामाजिक क्षेत्रमा अब्बल बनेका गुरुङसेनीहरु समुदायको कला सीप संस्कृति संरक्षणमा पनि लागि परेका हुन्, विसं २०६९ मा जिल्ला विकास समिति रोल्पाको सहयोगमा उनीहरुले पर्यटकीय गाँउको अवलोकन गरेका थिए, अवलोकनपछि गाँउ पर्यटन प्रवद्र्धन गरि समुदायको जीवनमा रुपान्तरण गर्न गाँउ पर्यटनमा लागेका हुन्। जिल्लामै उत्कृष्ट ग्रामीण पर्यटकीय गाँउ बनाउन लागि परेका हुन् गुरुङ संस्कृतिसंग सम्वद्ध सबै संस्कार संस्कृति संगीत कलाले समृद्ध गुरुङगाँउ पुग्ने पाहुनाले धितै मार्ने गरि अनुभव र अवलोकन गर्न सक्दछन्, गुरुङ संस्कृतिमा रमाउन पुग्ने पाहुनाको उनीहरुले फूलमालाले स्वागत गर्दै गाँउ भित्र्याउछन् ।
सहकारी पूर्व आफूहरुलाई कुनै कुराको थाहा नभएको बताउदै सहकारी अनि होमस्टे तालिम भ्रमण पछि सबै महिलामा काम गर्ने उत्साह बढेको होमस्टे संचालिका मन्जु गुरुङले बताइन् । आफ्नै भाषा संस्कृति पनि भूल्दै गएकोमा पछिल्लो चरणमा हिरा घले नेतृत्वमा भाषा प्रशिक्षण, गुरुङ परिकार, पाहुना सत्कार जस्ता नयाँ सीपहरु हासिल गरेको मन्जुको कथन छ । कुशल नेतत्व अनि सही योजना भए गाँउलाई बदल्न सकिन्छ भन्ने गजबको उदारहण हिराको गाँउमा पाउन सकिन्छ, विगतमा गुमनाम जस्तै बनेको गुरुङगाँउमा काठमाण्डौ कैलाली कन्चनपुरन नेपालगंज लगायतबाट मानिसहरु गाँउ पुग्ने गरेको उनीहरुले बताएका छन् । आर्थिक सामाजिक विकासमा पछि परेको गाँउ सहकारी हुदै गाँउ पर्यटन विकासमा लागेपछि सबैको नजर तान्न सफल भएको हो । पर्यटन उद्यमलाई विकास र विस्तार गर्न स्थानीय सीप कला संस्कृति र उत्पादनलाई बजारीकरण गरि स्थानीयको जीवन सुधार गर्न गुरुङसेनीहरु लागेपछि गाँउ पर्यटन प्रवद्र्धनले कोल्टो फेरेको छ । पर्यटनको आधारभूत शिक्षा र चेतनामा विकास भएपछि स्थानीय जीवनमा रुपान्तरण गर्न उनीहरु लागि परेका हुन् । महिलाले चाहे दुनियाँ बदलिन सक्छ भन्ने उक्तिलाई सावित गर्दै गुरुङसेनीहरु उद्यममा लागेपछि गाँउले नयाँ रुप पाउन थालेको हो ।
लिबाङ नगरपालिका ९ मा पर्ने गुरुङ गाँउमा ६५ घरधुरी गुरुङ समुदाय बसोबास गर्दछन्, लिबाङ बजारदेखि करिब ४ किलोमिटर सडक दुरीमा पर्ने गुरुङ गाँउमा गत वर्षदेखि घरबास कार्यक्रम आरम्भ भएको हो। हिराको पहलकदमी अनि स्थानीय महिलाहरुको जाँगर र उत्साहले साथ दिएपछि गाँउले मुहार फेर्दैछ । सामुदायीक एकता समुदायप्रतिको दृढ प्रतिवद्धताको बलमा समुदायस्तरमा जीवन परिवर्तनका लागि गाँउमा आर्थिक जोहो गर्ने मेलो बनाइएको हो । परम्परागत कृषीमा जीवन निर्वाह गर्दै आएको समुदायको दैनिकीलाई आर्थिक जीवनमा सहज बनाउन र गाँउको उत्पादन गाँउमै अतिथिलाई चखाउन उनीहरु गाँउ पर्यटनमा जुटेका हुन् । हिराकै नेतत्वमा सरसफाई, सामाजिक सचेतीकरणमा उपलब्धी हासिल गरेपछि गाँउ पर्यटनको माध्यमबाट समुदायको जीवन बदल्न लागि परेका छुन्, स्थानीय गुरुङ संस्कृति कलालाई उजागर गर्दै गुरुङसेनीहरु गाँउ पर्यटन प्रवद्र्धनमा लागेका हुन्, अधिकांश विपन्न महिलाको बाहुल्यता भएको गाँउको जीवन सुधार गर्न गुरुङसेनी महिलाकै नेतृत्वमा गाँउमा पर्यटन उद्यमीकरणको अभ्यास हुने गरेको छ, ग्रामीण पर्यटनको अभ्यासपछि गाँउको सामाजिक आर्थिक शैक्षिक स्वास्थ्य लगायतमा परिवर्तनको आभाष हुन थालेको छ । यसले हिराको सहकारी आन्दोलनपछि गाँउ पर्यटनमा पनि अव्वलता प्रदर्शन गरेको प्रष्ट्याएको छ ।
