काठमाडौं, २८ साउन। नेपाली बजारमा बुधवार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ६ हजार २०० ले घटेको छ ।

Gold Shopमहासंघले बुधवारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य पनि प्रतितोला २२५ ले घटेको छ । बुधवारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार २१० निर्धारण गरिएको छ ।

मंगलवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला १लाख १ हजार पुगेको थियो । मंगलवार पनि सुनको मूल्य प्रतितोला ८०० ले घटेको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि पहेंलो धातुको मूल्यमा गिरावट आएको छ । प्रतिऔंस २ हजार डलर नाघेको सुनको मूल्य बुधवार विश्वबजारमा प्रतिऔंस १ हजार ८९० दशमलव ५५ डलरमा झरेको छ ।

महासंघका अध्यक्ष मोहनकुमार सुनारले अन्तरराष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य ओरालो लागेको बताए । विश्वबजारमा सुनको भाउ घट्नाका कारणबारे आफूले अध्ययन गरिरहेको उनको भनाइ थियो । रासस