काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ। उप-प्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।
आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमामा तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
बजेटको व्ययको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ५.६ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी छ । कुल विनियोजनमा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरिएको छ।
अनुमानित बजेटको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड उठाइने अनुमान गरिएको छ। बाँकी पाँच खर्ब ९५ अर्ब ६६ अर्ब बराबर न्यून हुने छ। त्यसका लागि आन्तरिक ऋणबाट तीन खर्ब ६२ अर्ब र बाह्य ऋणबाट दुई खर्ब ३३ अर्ब ६६ करोड बेहोरिने बताइएको छ ।
बजेटको पूर्णपाठ हेर्नलाई यहाँ क्लिक गर्नुहोस्










