१५ वर्षभित्र सिङ्गो लुम्बिनीलाई अर्गानिक प्रदेश बनाउँछौं : मुख्यमन्त्री आचार्य

बुटवल । ३० करोडको लगानीमा रुपन्देहीको रोहिणीमा सञ्चालन भएको प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्योगको उद्घाटन गरेका हुन् ।

उद्योगको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्बराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य भएको बताए । उनले प्रदेश सरकारले नीति तथा कार्यक्रममा सिङ्गो प्रदेशलाई प्राङ्गारिक बनाउने नीति अघि सारेको स्पष्ट पार्दै त्यसका लागि प्रवर्द्धनमुखी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

रासायनिक मलको प्रयोगबाट उत्पादन हुने खाद्यान्नका कारण नागरिक रोगी बन्ने, नयाँ–नयाँ रोग देखिने, लुम्बिनी प्रदेशमा मात्र हरेक वर्ष एक हजारभन्दा बढी क्यान्सरका बिरामीको उपचारमा खर्च गर्नुपरेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले रासायनिक मल र विषादीयुक्त खानेकुरा क्यान्सरको प्रमुख कारणको रूपमा प्रमाणित भइसकेकाले १५ वर्षभित्र लुम्बिनीलाई अर्गानिक प्रदेश बनाउने संकल्प गरिएको बताए ।

सरकारले नीति तथा कार्यक्रममै प्रदेशलाई अर्गानिक प्रदेश बनाउने घोषणा गरेको भन्दै मुख्यमन्त्री आचार्यले त्यसका लागि स्वदेशी प्राङ्गारिक मल उद्योगसँग सहकार्य गगर्ने र सरुमा पहाडका ६ जिल्ला र क्रमशः तराईका ६ जिल्लालाई प्राङ्गारिक जिल्ला हुँदै सिङ्गो प्रदेशलाई अर्गानिक सर्टिफाइड बनाउने बताए । उनले  प्राङ्गारिक मलबाट उत्पादन हुने खाद्यवस्तु तथा फलफूल विदेश निर्यात गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै प्रदेशका केही पालिकालाई प्राङ्गारिक पालिकाका रूपमा घोषणा भइसकेको बताए ।

भैरहवाका उद्योगी दम्पती सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालको ३० करोडको लगानीमा रोहिणी गाउँपालिका–४ कोटहवामा ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालिमार्फत गत वर्षदेखि मल उत्पादन सुरु भएको थियो । प्रतिदिन दुई सय मेट्रिक टन मल उत्पादन क्षमता रहेको उक्त उद्योगले हाल ‘रत्नम’ ब्रान्डमा दैनिक ८० मेट्रिक टन मल उत्पादन गरिरहेको छ ।

उद्योगका सञ्चालक सिद्धार्थ अग्रवालले कच्चा पदार्थ आयातमा कर छुटको व्यवस्था गरिनुपर्ने र स्वदेशी प्राङ्गारिक मलको बजारिकरणमा सरकारले सहयोग गर्नुपर्ने माग गरे ।