काठमाडौँ । आज १८ औं गणतन्त्र दिवसको अवसरमा टुडिखेलमा भव्य समारोह छ । त्यहाँ आज राष्टनायक नेपालका राष्ट्रपति रामचन्द्र पौडेललगायत अतिविशिष्ट व्यक्तित्वको सहभागी हुदैछ । यति हुदैगर्दा आजै राजधानीमा सबैतर्फबाट चासोको रुपमा हेरिएका दुई वटा प्रदर्शन हुँदैछन् । एकातिर सत्तारुढ दल नेकपा एमालेको प्रदर्शन गर्दै छ भने अर्कातर्फ राजतन्त्रको माग गर्दै राजावादीहरुले प्रदर्शन गर्दै छन् ।
यी दुबै प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न होउन भनेर काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि छुट्टाछुटै समय तोकिदिएको छ । प्रशासनले पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन आयोजना गर्न प्रशासनले समय छुट्याएको छ ।
एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम सुरु गरेर सवा २ बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ । त्यसपछि शान्ति वाटिका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको छ । एमालेले बिहीबार गणतन्त्र दिवस मनाउने कार्यक्रम छ । राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मागसहित बिहीबारदेखि अनिश्चितकालीन प्रदर्शनको घोषणा गरेका छन् ।
राजावादीले गत चैत १५ मा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । अर्कोतर्फ केही दिनअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौंलाई केही घण्टा नियन्त्रणमा राख्न पार्टीका कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । सोही कारण केही अप्रिय घटना नहुन दिन यस पटक सुरक्षा व्यवस्था कडा पारिएको छ ।











