दाङ । दाङ प्रहरीले सुन तथा अन्य सामग्री चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चोरीका गहना किन्ने बाहेक सबै १४ वर्षका छन् ।
उनीहरु सबै राप्ती गाउँपालिका ७ सिसहनियाका रहेका छन् । उनीहरुले गएको फागुन २४ गते राप्ती गाउँपालिका ७ सिसहनिया बस्ने तारा गौतमका घरमा चोरी गरेको प्रहरीले जनाएको छ । ती व्यक्तिहरुले घरको ढोकाको ताला खोलेर काचो र सुनका गहना गरी अन्दाजी २० तोला सुन, एक थान ल्यापटप थान १ चोरी गरेको पीडितले प्रहरीमा उजुरी गरेका थिए ।
सोही अनुसार उनीहरुलाई जेठ ११ गते नियन्त्रणमा लिएर सोधपुछ गर्दा चोरी गरेका गहना गढवा बस्ने राहुल सुनचाँदी पसल लमहीका संचालक देव बहादुर बिकले किनेको खुलेको थियो । सोही अनुसार उनको पसलमा खानतलासी लिदा ८ तोला १४ लाल ४ प्वाईन्टका बिभिन्न तयारी गर गहनाहरु, २ तोला ६० लाल ८ प्वाइन्टका पुरना स्वरुप परिवर्तन गर्दै गरेका सुनका टुक्रा तथा कुच्चाएको सुन,२ तोला ४२ लाल तामाको डण्डी सहितको पंचरत्न बाला, नौ तोला ९० लालको ममला र कपडा सहितको सुनको छड्के तिलहरी बरावद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै भारतीय नोट रु ५०० को ७५ थान ३७ हजार ५ सय, नेपाली नोट १००० दरको ९ थान र सुन तौल गर्ने डिजिटल मेशिन थान १, सुन गलाउने पम्प थान २ बरामद गरिएको छ । पसले विकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।











