काठमाडौँ । आज नेपाली जनताको लामो त्याग, बलिदानीपूर्ण जनसङ्घर्ष र जनआन्दोलनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन ।
२०६५ जेठ १५ गते जननिर्वाचित संविधान सभाको पहिलो बैठकबाट २४० वर्षदेखि सत्तामा रहेको राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको थियो । त्यो घोषणाले आज १७ वर्ष पूरा गरेको छ । आजको दिनलाई १८ औँ गणतन्त्र दिवस मनाइँदैछ ।
विगतका वर्ष जस्तै आज गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ। गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट महानुभाव सहभागी हुँदैछन् । अन्य ठाउँमा पनि आआफ्नो तरिकाले यो दिवस मनाइदैछ । सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।
गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएपनि जनताले भने राजनीतिक दलहरुको पछिल्ला गतिविधिबाट यसको महसुस गर्न नपाएको अनुभुति गरिरहेका छन् । जुन गतिमा गणतन्त्र स्थापना भएको थियो त्यो गतिमा हुनुपर्ने काम नभएपछि जनता राजनीतिक गतिविधिबाट दिक्दार बनेका छन् । यसैको फलस्वरुप पछिल्ला दिनमा संसददेखि सडकसम्म फालिएको निरंकुश राजतन्त्र पुर्नस्थापनाको आवाज उठ्न थालेका छन् । यो किमार्थ जनताका लागि राम्रो कुरा होइन ।











