रौतहट । उच्च अदालत जनकपुरले रौतहटमा बम विस्फोट गराई प्रमाण नष्ट गर्न मान्छेलाई इँटाभट्टामा जिउँदै जलाएका अभियुक्त कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिएको छ ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर आलमलाई रिहा गर्न आदेश दिएको हो । न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।

जिल्ला अदालत रौतहटको आदेशविरुद्ध उनी उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पुगेका थिए । उक्त इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्‍न दिएको आदेश सदर गरेको थियो । रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो ।

पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम विस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो ।