बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ल्याउने बजेटको चालु आर्थिक वर्षको भन्दा आकार घटाएर ल्याउने तयारी गरेको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि ३८ अर्ब ९७ करोड बजेट ल्याएको थियो । तर आगामी वर्ष २०८२/८३ मा भने २० प्रतिशतसम्म घटाएर बजेट ल्याउने विषयमा गृहकार्य सुरु गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ३० देखि ३३ अर्बभन्दा माथि बजेट नबढाउने गरी नयाँ बजेट बनाउन आर्थिक योजना मन्त्रालय र प्रदेश योजना आयोगलाई निर्देशन दिइसकेका छन् ।
सङ्घीय सरकारले आगामी आवमा बजेटको सिलिङ घटाउन भनेपछि त्यसलाई ख्याल गरी बजेट लेखनपूर्व नै मुख्यमन्त्री आचार्यले कार्यान्वयनमा समस्या नपर्ने बजेट निर्माण गर्न निर्देशन दिएका हुन् । लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीले टुक्रे कार्यक्रम धेरै हुँदा बजेट कार्यान्वयनमा समस्या देखिएको भन्दै मुख्यमन्त्रीले घाटा बजेट नल्याउन निर्देशन दिएकाले सोही अनुसार बजेट निर्माणको तयारीमा जुटेको बताए ।
प्रदेशको आन्तरिक स्रोत वृद्धि हुन नसकेको अवस्थामा आव २०८२/८३ मा यथार्थपरक, चुस्त र सानो आकारको बजेट निर्माणमा आफूहरू जुटेको चौधरीको भनाइ छ । उनले ३० लाखभन्दा कमका योजनालाई प्राथमिकता नदिने गरी बजेट बनाउनका लागि मोटामोटी सहमति बनेको बताए ।
यस वर्षको नीति तथा कार्यक्रममा पनि गत वर्षको जस्तै कृषि, उद्योग र पर्यटन क्षेत्रलाई नै प्राथमिकता दिने गरी तयारी भइरहेको छ । कम्तीमा ३० अर्ब र बढीमा ३३ अर्बभन्दा माथिको बजेट नआउने गरी प्रदेशमा बजेटको तयारी गर्ने आर्थिक योजना मन्त्रालयको योजना छ ।
