काठमाडौँ । गत १५ चैत तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनलाई उकासेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमात्रलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
आइतबार काठमाडौं जिल्ला अदालतले मिश्रलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । चैत १५ गते राति पक्राउ परेका मिश्रलाई म्याद थपका लागि प्रहरीले अदालत पेस गरेको थियो । तर उनीसँग पक्राउ परेका महामन्त्री धवलशमशेर राणा हप्ता दिनअघि वैशाख ७ गते नै छुटिसकेका छन्।
त्यस्तै आन्दोलनपछि नजरबन्दमा राखिएका ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ संयोजक नवराज सुवेदी पनि मुक्त भइसकेका छन्। संयुक्त समितिका प्रवक्ता स्वागत नेपाल पक्राउ परेको दुई दिनमै छुटेका थिए। सँगै पक्राउ तथा नजरबन्दमा परेका पार्टनरहरू छुट्दै जाँदा मिश्रमाथि भने उल्टै हिरासतमा रहनुपर्ने अवधि लम्बिएको छ ।
