पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन कृषि र वनलाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएका छन् ।

पाल्पा जिल्लाको निस्दी गाउँपालिकामा निर्माण भएको बहुउद्देश्यीय सभाहलको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उद्यमशीलताको माध्यमबाट ग्रामीण क्षेत्रको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका हुन् ।

“यहाँको पहाडी बस्ती, वनजंगल, व्यवसायिक बाख्रापालन, अर्गानिक तरकारी खेतीका लागि उर्वर भूमि छ । वनमा अम्रिसो खेतीबाट पनि आम्दानी बढाउन सकिएको उदाहरण पाएका छौं” मुख्यमन्त्री आचार्यले भने, “यी र यस्तै स्थानीय उत्पादनबाट हाम्रो अर्थतन्त्र बलियो हुन सक्छ, हामी आत्मनिर्भर बन्न सक्छौं ।”

प्रदेश सरकारले स्थानीय उत्पादन बढाउनका लागि साझेदारी गर्न मिल्ने खालको नीति निर्माण गरेर अगाडि बढेको बताउदै आचार्यले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको र उद्यमशीलताको माध्यमबाट आर्थिक सशक्तीकरण गर्न सकिने बताए ।

“यस ठाउँका महिला दिदीबहिनीहरूले अम्रिसोको खेती गरेर कुचो बनाएर बिक्री वितरण गरी आम्दानी गरिरहेको मैले थाहा पाएको छु”, मुख्यमन्त्री आचार्यले भने, “यो कार्यका लागि महिला दिदीबहिनीहरूलाई प्रदेश सरकारको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।”

मुख्यमन्त्री आचार्यले स्थानीय निजामती सेवा ऐन कार्यान्वयनमा ल्याइएको, नियमावली निर्माण गरेर लामो समयदेखि रोकिएको बृत्तिविकास तथा बढुवाको ढोका खोलिएको बताए ।