काठमाडौं । सर्लाहीको वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध डेढ अर्ब बिगोसहित कायम गरी भ्रटाचार मुद्दा दर्ता भएको छ ।
वन तथा वातावरण मन्त्रालयले थापाविरुद्ध १ अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३ सय ३७ बिगो कायम गरेर सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। थापा नेकपा माओवादी केन्द्रका नेता पनि हुन् ।
थापासहित उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मथुर चौधरीलाई पनि प्रतिवादी बनाइएको छ।
वाग्मती नगरपालिका ४ र १२ स्थित सागरनाथ वन विकास परियोजनाको स्वामित्वमा रहेको मूर्तिया सेक्टरअन्तर्गत कमैया क्षेत्रको वन क्षेत्रमा गैरकानुनी रूपमा करिब १७३.०० हेक्टर वन क्षेत्रको जग्गा अतिक्रमण गरी वाग्मती माछा पोखरी (भरत ता) निर्माण भएको थियो। यो संरचना सरकारको स्वीकृति बिनानै बनाइएको थियो ।
