काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार आन्तरिक र केही बाह्य दबाबमा रहेको संकेत गर्दै यसको स्थायित्वमाथि आफैँ प्रश्न उठाएका छन् । प्रतिपक्ष र आलोचकबाट ‘सरकार ढल्ने हल्ला’ र ‘भ्रम फिँजाउने’ काम भएको दाबी गरेका ओलीले भूराजनीति सरकारको प्रतिकूल बनिरहेको भने स्पष्ट सन्देश दिए । उनको यस्तो भनाइ कांग्रेस सभापति शेरबहादुर देउवाको विदेश भ्रमणका वेला आएको छ, जसलाई राजनीतिक दृष्टिले अर्थपूर्ण मानिएको छ ।

ओलीले एमालेको राष्ट्रवादी अडान र जनपक्षीय दृष्टिकोणबाट भयभितहरूले दिनैपिच्छे सरकार ढल्ने हल्ला गर्दै भ्रम फिँजाइरहेको दाबी गरे । लोकतन्त्र दिवसका अवसरमा एमालेले बिहीबार आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशी दलाल तत्वहरू एमालेविरुद्ध खनिएको बताए ।

‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट अडान लिएको हुनाले विदेशी दलाल तत्वहरू अहिले एमालेविरुद्ध खनिएका छन् । हाम्रो राष्ट्रवादी दृष्टिकोण र अडान, हाम्रो जनपक्षीयता, लोकतान्त्रिक अभ्यास, आचरण र देश अगाडि बढाउने नीतिका कारण विभिन्न प्रकारका शक्ति भयभित छन्,’ ओलीले भने, ‘उनीहरू हरेक दिन सरकार जान्छ, सरकार जान्छ भनेर कराउन थालेका छन् । दिनैपिच्छे अनेक भ्रम फिँजाउन खोजेका छन् । लोकतन्त्रमा ५ वर्षका लागि बन्छ ।’

ओलीले सरकारको जोखिमतर्फ संकेत गर्दै सरकारको चिन्ता गर्न छाडेर निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि मिसन ८४ को चुनावी तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरे नयाँ पत्रिकामा खबर छ। ‘स्थिरता र स्थायित्वको संकल्पसहित कांग्रेस र एमालेको संयुक्त सरकार बनेको हो । सरकार यसैमा अगाडि बढिरहेकाले सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ,’ उनले भने, ‘एमालेले सरकार बनाऊँ, सरकार बचाऊँ भनेर कराएको छैन । एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ । ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।’