भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि प्रदेश सरकारले संघीय सरकारको गम्भीर ध्यानाकर्षण गराएको बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको विमानस्थलको दीगो सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको आर्थिक तथा पर्यटन विकासका लागि यो विमानस्थल मेरुदण्ड भएको उल्लेख गरे ।
उनले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भर्न आवश्यक सेवा विस्तारका लागि प्रदेश सरकार साझेदारी गर्न तयार रहेको स्पष्ट पारे । संघीय सरकारले प्रदेश सरकारलाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिएमा त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउँदै उनले स्वास्थ्य परीक्षण, श्रम स्वीकृति र भिसा सेवाहरू तत्काल विस्तार गर्न बारम्बार ध्यानाकर्षण गराइएको बताए । भिम अस्पताललाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिन सकिने उनको भनाइ थियो ।
“हामीले स्वास्थ्य परीक्षण निःशुल्क गरिदिन सक्छौं भनेर भनेका छौं”,झ उनले भने, ञश्रम स्वीकृतिका लागि छुट्टै कार्यालय खोल्न पनि पर्दैन । यहीँबाट सेवा दिन सकिन्छ ।”
संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै उनले भने, “सडक तताएर होइन, संवादलाई नै अघि बढाएर जानुपर्छ । विमानस्थल जसरी, जुनसुकै हालतमा पनि सञ्चालन हुनुपर्छ । अहिले पनि म ढुक्क छु, यसलाई सञ्चालन गराउँछौं । सरकार निराश छैन ।”
व्यवसायीहरूको साथमा प्रदेश सरकार रहेको र विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहलको नेतृत्व प्रदेश सरकारले लिने उनले स्पष्ट पारे ।











