सल्यान । सल्यानदेखि सुर्खेत ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी पाइएको छ । अत्यधिक विषादी पाइएपछि ८७० किलो काउली नष्ट गरिएको छ । उपभोगका लागि अयोग्य रहेको भन्दै कृषि विभागको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत रहेको विषादी अन्वेषण द्रुत विश्लेषण प्रयोगशाला एकाइ सुर्खेतले सोमबार काउली नष्ट गरेको हो ।

प्रयोगशालाका नायब प्राविधिक धनसिंह धामीले सल्यानबाट ल्याइएको काउलीमा ९९.३४ प्रतिशत अर्गानोफस्फेट समूहको विषादी पाइएको बताए । उनका अनुसार सामान्यतया तरकारीमा कार्बामेट वा अर्गानोफस्फेट समूहको विषादी ३५ प्रतिशतभन्दा कम भए मात्र खानयोग्य मानिन्छ । विषादीको ३५/४५ प्रतिशतबिचको मात्रामा केही दिन क्वारेन्टाइनमा राखेर परीक्षण गर्न सकिन्छ तर ४५ प्रतिशतभन्दा बढी भएमा त्यसलाई विसर्जन गर्नुपर्ने प्राविधिक मापदण्ड छ ।

कपुरकोट गाउँपालिका–६, छायानाथ लिउरेखोला क्षेत्रका किसानबाट उत्पादन गरिएको काउली व्यापारी प्रबल शाहीमार्फत सुर्खेतका व्यापारी रतन महतरालाई पठाइएको थियो । उक्त काउली वीरेन्द्रगरस्थित तरकारी मन्डीमा बेच्न राखिएको थियो । परीक्षणमा अत्यधिक मात्रा विषादी देखिएपछि सोमबार नै नगरपालिकाका जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।

घिरौँला, सिमी र गोलभेँडामा बढी विषादी

देशकै ठुलो तरकारी बजार कालीमाटीमा पछिल्ला दिनमा भित्रिएका ताजा तथा हरिया तरकारीमा विषादीको मात्रा अधिक प्रयोग भएको भेटिएको छ । कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले सो बजारमा भित्रिएका ताजा तथा हरिया तरकारीको नमुना परीक्षण गर्दा विषादीको मात्रा अधिक प्रयोग भएको देखिएको हो ।

मङ्गलबार विभिन्न ठाउँबाट आएका १५ प्रकारका तरकारीको नमुना परीक्षण गर्दा धादिङबाट आएको घिरौँला अर्गानोफस्फेट नामको विषादीको रोकावट दर ५३.९३५ प्रतिशत प्रयोग भएको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बिक्री गर्न बाँकी रहेको घिरौँला बजार समितिले कालीमाटी प्रहरीको रोहवरमा नष्ट गरेको छ । मङ्गलबार नै धादिङबाटै आएको घिउसिमीमा पनि अर्गानोफस्फेट नामको विषादीको रोकावट दर ३९.६९ प्रतिशत प्रयोग भएको पाइएको छ ।