काठमाडौँ । शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मतभेद बढेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । राजीनामापत्रमा स्वास्थ्य समस्या देखाए पनि प्रधानमन्त्री ओलीसँगको असन्तुष्टिका कारण उनी पद छोड्न बाध्य भएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिसँग संवाद गरेर माग पूरा गराउन भट्टराईले मन्त्रिपरिषद्मा पेस गरेको ७ बुँदे प्रस्तावप्रति प्रधानमन्त्री अनुदार बनेपछि उनले राजीनामा दिएकी हुन् । विद्यालय शिक्षा विधेयक पारित गर्नेसहित शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने विषयमा उनले प्रस्ताव तयार पारेकी थिइन् । तर सोमबार बालुवाटारको भेटमा सहमति नबनेपछि प्रधानमन्त्रीलाई राजीनामा बुझाएर उनी मन्त्री निवास नगई सिधै चाबहिलस्थित निजी निवास गएकी थिइन् ।
उनी सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि उपस्थित भएकी थिइनन् । ‘शिक्षक आन्दोलन र मागका विषयमा प्रधानमन्त्री सकारात्मक हुनु भएन, विधेयक अघि बढाउने विषयमा पनि संसदीय समितिमा प्रभावकारी छलफल हुन सकेन,’ शिक्षा मन्त्रालयका एक अधिकारी भन्छन्, ‘सभामुखले पनि विधेयक पारित गर्ने विषयमा आफ्नै ढंगले कुरा गर्न थालेपछि मन्त्री पदमा बस्न हुँदैन भन्ने निर्णयमा पुग्नुभयो ।’
घाँटीको टन्सिल बढेपछि फागुन तेस्रो साता त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गराएकी मन्त्री भट्टराई चैत पहिलो सातासम्म आराममा बसेकी थिइन् । ‘फेरि संक्रमणको लक्षण देखिन थालेको छ, मन्त्रालयका समस्या पनि सकारात्मक रूपमा अघि बढ्न सकेका छैनन्, सहयोगभन्दा असहयोग बढ्दो छ,’ ती अधिकारी भन्छन्, ‘समय दिन नसक्ने भएपछि राजीनामा दिने टुंगो भयो, असन्तुष्टिका विषय त पहिलेदेखि नै सार्वजनिक भएका छन् ।’ भट्टराईले भने राजीनामापछि तत्काल औपचारिक प्रतिक्रिया दिएकी छैनन् । कान्तिपुरबाट
