रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न प्रदेश सरकारले पहल लिने बताएका छन् । संघीय सरकारसँग समन्वय गरेर जितगढी किल्लालाई सूचिकृत गर्ने उल्लेख गर्दै उनले राष्ट्रिय गौरवको विषयलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयास गरिने बताएका हुन् ।
जितगढी उत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय सपुतका रूपमा नामाकरण गर्नका लागि पनि संघीय सरकारसँग पहल गरिने जानकारी दिए । इतिहासबाट धेरै कुरा बुझ्न र सिक्न आवश्यक रहेको उल्लेख गर्दै उन्ले वीर सपुतको त्याग र बलिदानीलाई कहिल्यै बिर्सन नहुने बताए ।
“नयाँ पुस्तालाई वीरताको गाथा सुनाउनु जरुरी छ । इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्न आवश्यक छ । राष्ट्रप्रति देखाइएको समर्पणको भावनालाई उच्च सम्मान गर्न जरुरी छ । त्यो त्याग र समर्पणलाई कहिल्यै भुल्न सक्दैनौँ”, उनले भने ।
वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा तत्कालीन पाल्पाका सेन राजाले अंग्रेज फौजविरुद्ध युद्ध गरेका थिए । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी निर्माण गरेका थिए । त्यही फौजले १८७१ सालदेखि सुरु भएको पटक–पटकको आक्रमण सामना गर्दै अन्ततः वि.सं. १८७२ वैशाख ७ गते विजय हासिल गरेको थियो ।











