काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन्। गत चैत १७ गते नै राजीनामा दिए पनि हालसालै सार्वजनिक भएको हो। सभापति रवि लामिछाने पक्राउ नपर्दै बसेको पार्टीको बैठकमा सुमनाले रविलाई नै सम्बोधन गरेर राजीनामा बुझाएकी थिइन्। तर बिहीबार बस्ने केन्द्रीय समिति बैठकअगाडि मात्रै उनले राजीनामा सार्वजनिक भएको हो ।

राजीनामा पत्रमा सुमना श्रेष्ठले पार्टीका निर्णय अरूबाटै थाहा पाउनुपर्ने अवस्था रहेको उल्लेख गरेकी छन्। पार्टीको बैठक राखौंभन्दा नराख्ने तर निर्णयचाहिँ अरूबाटै थाहा पाउनुपर्ने अवस्था भएकाले सहमहामन्त्री पद निकै हलुका महसुस गरेको राजीनामा पत्रमा टिप्पणी गरेकी छन्।

‘पदाधिकारी भएरसमेत पार्टीसम्बन्धी महत्त्वपूर्ण विषय तथा निर्णय आधिकारिक स्रोतबाट नभई अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले, पद दिएर पनि कुनै वजन नभएको महसुस गरेँ। कैयौं पटक विभिन्न विषयमा बैठक बसौंभन्दा समेत वास्ता गरिएन। यसकारण यस्तो महत्त्वपूर्ण पद अब चाहिँ यसरी हलुका नलिदिनुहुन पनि आग्रह गर्छु,’ उनले भनेकी छन्। उनी रास्वपाको तर्फबाट संघीय सांसद पनि हुन् ।