एजेन्सी । विश्वका शक्तिशाली राष्ट्रका रुपमा रहेका अमेरिका र चीनबीच केही समयदेखि व्यापार युद्ध चलिरहेको छ । विशेषगरी अमेरिकामा नयाँ राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प आएपछि व्यापार युद्ध चलेको हो ।
ट्रम्पले राष्ट्रपतिको पद समालेपछि लगातार चिनियाँ सामानमा कर बढाउदै लिएका छन् । अहिले अमेरिकाले चीनमा २४५ प्रतिशत कर लगाएको छ । चीनले अमेरिकाबाट आउने सामानमा लगाएको १२५ प्रतिशत कर अर्थात अतिरिक्त भन्सार महसुलको जवाफमा अमेरिकाले उल्टै चीनमा २४५ प्रतिशत कर लगाएको बीबीसीले जनाएको छ ।
अमेरिकाविरुद्धको प्रतिशोधात्मक कारबाहीका कारण चीनले अब २४५ प्रतिशतसम्मको भन्सार शुल्कको सामना गर्नुपर्ने ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सबै देशहरूमा १० प्रतिशत भन्सार लगाएको र अमेरिकाको सबैभन्दा ठूलो व्यापार घाटा भएका देशहरूमा पारस्परिक रूपमा उच्च भन्सार लगाएको पनि यसमा भनिएको छ ।
७५ भन्दा बढी देशहरूले नयाँ व्यापार सम्झौताहरूमा छलफल गर्न पहिले नै सम्पर्क गरिसकेकोले चीनबाहेकका देशमा उच्च भन्सार शुल्कहरू स्थगित गरिएको ह्वाइट हाउसले बताएको छ । यसैबीच ट्रम्पको कर वृद्धिका कारण यस वर्ष विश्वव्यापी व्यापारमा गिरावट आउने विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले प्रक्षेपण गरेको छ ।
पारस्परिक भन्सार र राजनीतिक अनिश्चितता जस्ता प्रमुख समस्याहरू बढेमा विश्वभर सामानको व्यापार अझ घट्न सक्ने यसले बताएको छ ।
डब्ल्यूटीओले यसअघि यो वर्ष सन् २०२५ मा विश्वव्यापी सामान व्यापार २।७ प्रतिशतले बढ्ने अनुमान गरेको थियो, तर अब यो ०।२ प्रतिशतले घट्ने अनुमान गरेको छ ।











