काठमाडौं । गएको शुक्रवार काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शनले हिंसात्मक रुप लिएपछि स्थिति नियन्त्रण लिन प्रहरीले ५८ राउन्ड गोली चलाएको प्रहरीले बताएको छ ।
आज काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी सो क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्यले जानकारी दिए । यस्तै टियर ग्यास ७४६ राउन्ड, ब्ल्याङ्क फायर १९२ पटक भएको थियो । २ वटा गोली पेस्तोलबाट प्रहार भएको पनि उनले बताए ।
सो क्रममा २० जनालाई गोली लागेको प्रहरीले जनाएको छ । जसमा २ जना महिला र १८ जना पुरुष रहेका छन् । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत रहेका आचार्यले बताए । एक जना सविन महर्जनको मने मृत्यु भइसकेको छ ।
राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दा बज्दै टियर ग्यास नहानेको र बाहिर आएको भिडियो डीपफेक अर्थात् भ्रामक रहेको प्रहरीले दाबी गरेको छ । अर्को ठाउँमा हानेको टियर ग्यास उछिट्टिएर मञ्चमा पुगेको प्रवक्ता आचार्यले बताए ।











