जनकपुरधाम । माध्यमिक शिक्षा (एसइई) को परीक्षा सुधारमा संघीय सरकारले सहयोग नगरेको भन्दै मधेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले परीक्षाको सम्पूर्ण प्रक्रियाबाट बाहिरिएको घोषणा गरेका छन्।
मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरी उनले ८ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय कार्यालय र सुरक्षानिकायको सहभागितामा भएको बैठकले गरेको निर्णय कार्यान्वयन नभएको भन्दै परीक्षाबाट बाहिरिएको बताए।
एसइईको परीक्षालाई मर्यादित गर्ने निर्णय कार्यान्वयन नभएपछि गलत क्रियाकलापको साक्षी बन्न अनुगमन लगायतका कुनै काम नगर्ने मुख्यमन्त्री सिंहले बताए। मधेशको शिक्षाको स्तर सुधार्न र पठनपाठनको वातावरण बनाउन चिट चोर्ने तथा चोराउने वातावरण अन्त्य नभएसम्म कठिन हुने बताउँदै संघीय शिक्षामन्त्री विद्या भट्टराईले दिएको निर्देशन एकाइका प्रमुखहरूले उल्लङ्घन गरेको उनले बताए।
