काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू हुँदैछ । बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरू हुन लागेको हो ।

यस वर्षको एसईईमा पाँच लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी हुँदैछन् । गएको वर्षको एसईई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको छ ।

यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थी सहभागी हुने र काठमाण्डौको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

यस वर्ष सबैभन्दा बढी काठमाण्डौमा ३९ हजार ६ सय विद्यार्थी र सबैभन्दा कम मनाङ्मा ४३ जनाले परीक्षा दिँदैछन् । एसईई आजदेखि शुरु भएर १९ गतेसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुँदैछ ।