घोराही । घोराही उपमहानगरपालिका वडा न. १३ मा मनोविमर्श सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजना र घोराही उपमहानगरपालिका वडा न. १३ को सहयोगमा मनोविमर्श सम्बन्धी सचेतना कार्यक्रम भएको हो ।
वडामा रहेका विद्यालयका शिक्षक, टोल विकास संस्था, सहकारी संस्था, मठ मन्दिरको नेतृत्व, विभिन्न सामाजिक संघसंस्थाका नेतृत्वकर्ताहरु, महिला स्वास्थ्य स्वयम्सेविका, जनप्रतिनिधी, कर्मचारीहरुको उपस्थितिमा मनोविमर्श सम्बन्धी सचेतना प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष डुल्लुराज पोख्रेललले पछिल्लो समयमा मानसिक समस्याका घटनाहरु बढ्दै गएकाले वडाबासीहरुलाई मानसिक समस्या, मनोसामाजिक समस्याको बारेमा सचेतना प्रदान गर्ने उद्धेश्यले वडाले कार्यक्रमका लागि योजना तयार गरेको बताए । उनले पछिल्लो समय आधुनिकता र प्रविधिको विकाससँगै विविध कारणले मनोसामाजिक समस्या बढिरहेको बताउदै आगामी दिनमा पनि वडाबासीहरुलाई सचेत बनाउनका लागि वडा कार्यालय लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका वरिष्ठ मनोविमर्शकर्ता लक्ष्मी ढकाल र मनोविमर्शकर्ता निर्मला चौधरीले मनोविमर्श सम्बन्धी प्रशिक्षण दिएका थिए । जसमा मनोविमर्श भनेको के हो, मनोसामाजिक समस्या भनेको के हो, मनोसामाजिक समस्या हुनुका कारणहरु, मनोसामाजिक समस्याका लक्षणहरु, समाधानका उपायहरु लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका कार्यक्रम प्रमुख आर.के.शीतलको अध्यक्षता एवं वडाध्यक्ष डुल्लुराम पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्य रामकली घर्ती, वडा सदस्य राजिवराज हौजाली, वडा सचिव कौशल बस्नेत लगायतले भनाई राखेका थिए । कार्यक्रममा ५० जना बढिको सहभागिता रहेको थियो ।
