काठमाडौं । प्रहरीले सोमबार राति करिब २५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ परेका फुच्चे भन्ने कुसाङ लामालाई सार्वजनिक गरेको छ । मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत लामालाई उनीसँग बरामद गरिएको रकमसहित सार्वजनिक गरेको हो ।
सोमबार राति काठमाडौंको झोरबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी ना ७ ख १६५२ र लामालाई नियन्त्रणमा लिएको थियो । भोटेकोशी गाउँपालिका १ बस्ने ४३ वर्षका फुच्चे भन्ने लामा पहिला पनि सुन तस्करीको मुद्दामा ५ वर्ष जेल बसेका व्यक्ति हुन् । प्रहरीका अनुसार केरूङबाट दुई जनाले उक्त परिमाणको रकम केरूङसम्म ल्याउन भनेका थिए। उक्त सूचना प्रहरीले पाएको थियो। लगत्तै प्रहरीले अपरेसन सुरू गरेको थियो।
सो क्रममा झोरबाट लामा पक्राउ परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन्। उनीबाट प्रहरीले युरो र अमेरिकी डलर बरामद गरेको छ। पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले जानकारी गराएको छ । गाडीको क्याबिनमा फल्स बटम बनाएर लामाले त्यसमा पैसा लुकाएर लैजाँदै गरेका थिए।
