काठमाडौं । नयाँ नेतृत्व चयनका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ।
विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ, जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन्। विश्वविद्यालय क्याम्पसमा छ हजार १४६ मतदाता छन्। यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन्।
अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन्। उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ। कुनै संघ संगठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन्। बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था छ। सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ।
विश्वविद्यालय क्याम्पसमा ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’ बाट मतदान गरिने जनाइएको छ। मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ। राष्ट्रिय मानव अधिकार आयोगले स्ववियु निर्वाचनको अनुगमन गर्ने छ। विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते चुनाव हुने तय भएको छ।
आरआरमा तालाबन्दी
स्ववियु निर्वाचनको तयारी भइरहेका वेला सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो।










