काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पूर्वराजावादी समूहले विदेशी शक्तिको आडमा राजतन्त्र पुनर्स्थापना र हिन्दु राष्ट्र घोषणाको लक्ष्यसहित सुनियोजित रूपमा प्रतिगामी गतिविधि गरिरहेको ब्रिफिङ गरेका छन् । ओलीको यस्तो ब्रिफिङलगत्तै सत्तारूढ दल एमालेले गणतन्त्र पक्षधर सबै शक्तिसँग मिलेर प्रतिगामी गतिविधिको प्रतिवाद गर्ने निर्णय लिएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आपसी टेलिफोन संवादलगत्तै केन्द्रीय सचिवालयको सोमबारको बैठकले संयुक्त प्रतिवाद गर्ने निर्णय लिएको हो । ओली, देउवा र प्रचण्डबिच आइतबार प्रतिगामी प्रयास र आगामी कदमबारे टेलिफोन संवाद भएको थियो ।
एमालेका एक पदाधिकारीका अनुसार बाह्य शक्ति खासगरी भारतीय जनता पार्टीका उच्च तहका कतिपय नेता र त्यस पार्टीसँग सम्बद्ध हिन्दुवादी संगठन आरएसएसको आड–भरोसामै पूर्वराजावादीहरू सक्रिय भएका छन् । उनीहरूले ठुलै अराजकता मच्चाएर राज्यसत्ता उलटपुलट गर्ने उद्देश्यले संगठित रूपमा प्रतिगमनको प्रयास गरेको भन्दै एमालेले संयुक्त प्रतिवादतिर जाने निर्णय गरेको ती पदाधिकारीले बताए ।
उनका अनुसार प्रधानमन्त्री ओलीले राजावादीहरूको सक्रियताबारे गम्भीर रूपमा ब्रिफिङ गरेका छन् । ‘उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिरको खुलेआम प्रयोग, भारतीय नेताहरूको पछिल्ला अभिव्यक्ति, त्यहाँका सञ्चारमाध्यममा पूर्वराजावादीहरूको गतिविधिहरूलाई दिइएको स्थानलगायत सबै हेर्दा हाकाहाकी नै प्रतिगमनका लागि प्रयास भइरहेकोबारेमा प्रधानमन्त्रीले निकै गम्भीरतापूर्वक ब्रिफिङ गर्नुभयो,’ ती पदाधिकारीले भने, ‘उहाँको ब्रिफिङकै आधारमा संयुक्त प्रतिवाद गर्ने र पार्टीपंक्तिलाई पनि सजग र संगठित गर्दै एकैदिन सबै वडामा जुलुस र सभा गर्ने निर्णय गरिएको छ ।’
उपाध्यक्ष युवराज ज्ञवालीले पूर्वराजावादीको योजनाबद्ध प्रयासले जनतामा भ्रम पैदा गर्ने भएकाले पनि चिर्नका लागि एकैदिन जनपरिचालनको निर्णय भएको बताए । उनका अनुसार प्रतिगामी प्रयासविरुद्ध टोलसम्म पार्टीपंक्ति उतार्ने मनस्थितिसहित ६ हजार ७४३ वटै वडामा एकैदिन जुलुस र आमसभा आयोजना गर्ने निर्णय भएको छ । नयाँ पत्रिकाबाट
