काठमाडौं । बाढी प्रभावितलाई राखिएका नुवाकोट र रसुवाका केही होल्डिङ सेन्टरमा झाडापखाला देखिएको छ । ती क्षेत्रमा हैजासमेत फैलिन सक्ने जोखिम देखिएपछि आइतबार स्वास्थ्य मन्त्रालयले २१ हजार डोज हैजाविरुद्धको खोप र एक हजार प्याकेट जीवनजल पठाएको छ । स्थानीय स्वास्थ्य संस्थाहरूमा पनि करिब पाँच हजार प्याकेट जीवनजल मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नुवाकोटको विदुर नगरपालिका– ३, रणभुवनेश्वरी माविमा राखिएका करिब एक सय बाढीपीडितमध्ये तीनजनामा झाडापखाला देखिएको छ । विदुर– ७ कै लाइब्रेरी र स्वास्थ्यचौकी भवनमा बसेका चारजनामा पनि प्रकोप देखिएको छ । यहाँ २५० जना बाढीपीडित बसिरहेका छन् । त्यस्तै, रसुवाको शिवालय आधारभूत विद्यालय र हिमालय क्याम्पसमा राखिएका १८३ जनामध्ये तीनजनामा झाडापखाला देखिएको छ ।

ठुलो समूहमा बस्दा कहिलेकाहीँ पेट दुख्ने तथा पखाला लाग्ने समस्या सामान्य मानिए पनि प्रभावित क्षेत्रको खानपान र बसाइका कारण हैजासमेत फैलिन सक्छ  नयाँ पत्रिकामा खबर छ। होल्डिङ सेन्टरमा बसेकाहरूलाई खानेपानी र सरसफाइमा विशेष ख्याल गर्न तथा सचेत हुन सम्बन्धित सबैमा अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए ।