दाङ। दाङको घोराही-तुलसीपुर सडक खण्डको बेलझुण्डीमा आज दिउँसो बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको अम्बिकेश्वरी यातायात प्रालिको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर बेल्झुण्डीनजिक मोटरसाइकलसँग ठोक्किदा दुर्घटना भएको हो ।

सोही दिशातर्फ आउँदै गरेको रा ६ प २६२९ नम्बरको मोटरसाइकलले बसलाई ओभरटेक गरी एक्कासी मोड्ने क्रममा बस अनियन्त्रित भएर सडक किनारमा पल्टिएको हो । एक्कासी बसले ब्रेक लगाउँदा मोटरसाइललाई सामान्य ठक्कर दिँदा मोटरसाइकल चालक पनि घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य सबैको अवस्था सामान्य रहेकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिएका छन् । घटनाको थप विवरण समेत आउन बाँकी छ ।